ताप्लेजुङको ऐतिहासिक आदिवासी थातथलो मुकुम्लुङ संरक्षणबारेमा पहिचानवादी अभियन्ताविच छलफल

home-plan

काठमाडौं । ताप्लेजुङको ऐतिहासिक आदिवासी थातथलो मुकुम्लुङ संरक्षणबारेमा पहिचानवादी अभियन्ताविच छलफल भएको छ ।  सोमबार नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको कार्यालयमा भएको छलफलमा आदिवासीको पहिचानसँग जोडिएको सो क्षेत्रको संरक्षणमा राज्य चिन्तित हुनुपर्ने अभियन्ताहरुको सुझाव छ ।

४२ प्रतिशत लिम्बू समुदायको बसोबास रहेको ताप्लेजुङको आदिवासीको मूख्य धरोहरको रुपमा रहेको सो क्षेत्रमा केवलकार निर्माणले आदिबासीको पहिचान छिन्नभिन्न हुने अभियन्ताहरुले बताए । 

मुकुम्लुङ संरक्षण अभियानका अभियन्ता सरु लिम्बूले पहिचानका लागि आफूहरु शान्तिपूर्ण संघर्षमा रहेकाले ढिलो भएपनि सरकारले आफ्नो कुरा सुन्ने विश्वास व्यक्त गरिन । आदिबासीको थातथलोको संरक्षणमा आफूहरु निरन्तर संघर्ष गर्ने उनको भनाइ छ । 

मुकुम्लुङ क्षेत्र ऐतिहासिक क्षेत्र रहेको र त्यहाँ रहेको बोटविरुवा, रुख कटान हुँदा जंगली जीव जनावरको पनि उठिबास भएको उनले बताइन। आदिबासीहरुले औषधीको रुपमा प्रयोग गर्ने जडिबुटी समेत नस्ट भएको उनले चिन्ता व्यक्त गरिन । स्थानीय जनताको अधिकारमा सरकारले ध्यान दिनैपर्ने उनको माग छ ।

पत्रकार तथा अभियन्ता दिपिन राईले मुकुम्लुङ आदिबासी समुदायको ऐतिहासिक क्षेत्र रहेको र त्यहाँ धार्मिक पहिचान पनि कायम रहेको बताए । मुकुम्लुङ क्षेत्र नष्ट भएमा अन्य ठाउँको आदिबासीको थातथलो समेत संकटमा पर्ने उनको बुझाइ छ । 

फोनिजका सल्लाहकार अमरध्वज लामाले मुकुम्लुङ विषय आदिबासीको साझा मुद्दा भएको बताउँदै त्यसको संरक्षणमा सबै आदिबासीको चासो रहेको बताए । गैर आदिबासी समुदायलाई समेत मुकुम्लुङको ऐतिहासिकता बारेमा जानकारी गराएर समस्या समाधानमा लाग्नुपर्ने उनले सुझाव दिए ।

त्यसैगरी फोनिजका अध्यक्ष लक्की चौधरीले फोनिजले मिडियाको स्तरबाट आफ्नो भूमिका निर्वाह गर्दैआएको र मुकुम्लुङ क्षेत्रको संरक्षणमा सचेत रहेको बताए । आदिबासी समुदायलाई समेत मुकुम्लुङ क्षेत्रबारेमा पर्याप्त जानकारी गराउन नसकिएको अवस्थामा मिडियाको तर्फबाट फोनिजले सो काममा लागेको उनले जानकारी दिए ।