मातृभाषा पत्रकारिता भाषिक अधिकारको सवाल मात्र नभइ सूचनाको समान पहुँचको लागि आवश्यक

home-plan

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले  मातृभाषा पत्रकारिता भाषिक अधिकारको सवाल मात्र नभइ सूचनाको समान पहुँचको लागि आवश्यक रहेको बताए ।

शुक्रबार काठमाडौंमा सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । 

अध्यक्ष चौधरीले भाषिक र सांस्कृतिक चेतना वृद्धि, सरल र प्रभावकारी सञ्चार, समावेशी लोकतन्त्र निर्माण, परम्परागत ज्ञान पुस्तान्तरणका लागि मातृभाषा पत्रकारिताको आवश्यक रहेको भन्दै मातृभाषीको  रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफडिन) का उपाध्यक्ष रेशम गुरुङले मातृभाषा पत्रकारिता संकटमा रहेकाले प्रतिष्ठानले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको बताए । आगामी दिनमा पनि फोनिजसँग सहकार्य जारी रहने उनको भनाइ छ । यसैगरी आदिबासी जनजातीजन्य संघ संस्थाहरुसँग पनि प्रतिष्ठानको विभिन्न विषयमा सहकार्य जारी रहेको जानकारी दिए । 

गोरखापत्र दैनिकको नयाँ नेपाल पृष्ठका संयोजक एवम् नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले गोरखापत्रमा मातृभाषा पत्रकारिता सम्बन्धमा इतिहासहितको प्रस्तुतीकरण राखे ।  उनले लामो समयको भाषिक आन्दोलन पश्चात् नेपालको संविधान अनुसार गोरखापत्र समावेशी संरचनामा लानुपर्ने अवधारणाअनुरुप हाल ४६ भाषामा समाचार प्रकाशन हुँदैआएको बताए । उनले गोरखापत्रले वर्षमा दुई वटा भाषाबाट थप समाचार प्रकाशन गर्ने नीतिअनुरुप आफूहरु अघि बढेको भनाइ राखे ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले ‘रेडियो नेपालको प्रसारणमा आदिवासी जनजातिले बोल्ने राष्ट्रभाषा (मातृभाषा) का समाचार तथा कार्यक्रमहरु’ विषयक जानकारी दिए । उनले रेडियो नेपालबाट २६ भाषामा कार्यक्रम प्रसारण भइरहेको भन्दै विविध भाषामा कार्यक्रम सञ्चालनका क्रममा चुनौती रहेको भनाइ राखे ।

सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका प्रमुख पुष्पहरि क्याम्पराईले ‘मातृभाषा पत्रकारिता अवस्था र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गदै विविधता र समावेशीताका लागि मातृभाषामा पत्रकारिता आवश्यक रहेको बताए । उनले ऐनले व्यवस्था गरेअनुरुप राष्ट्रिय हित र एकता, सहिष्णुता, समावेशीता र सीमान्तकृत समुदाय, संस्कृति र सम्पदा, सार्वजनिक सरोकार र सचेतनाका लागि मातृभाषा पत्रकारिताले टेवा पुर्‍याउने बताए । 

फोनिजका पूर्व अध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताका लागि मातृभाषी पत्रकारहरु थप सक्रियरुपमा अघि बढ्नुपर्ने बताए । यसैगरी, फोनिजका निवर्तमान अध्यक्ष गजुरधन राईले समावेशी सञ्चार माध्यमलाई सशक्त बनाउनुपर्ने बताउदै यसलाई मूल प्रवाहिकरण गर्नुपर्ने बताए । 

कार्यक्रममा फोनिजका पूर्व अध्यक्ष गजुरधन राई, गोरखापत्र बहुभाषिक पृष्ठ समितिका संयोजक अब्दुल सलाम, दिवस राई, अवधि भाषाका संयोजक विक्रम त्रिपाठी, वरिष्ठ सञ्चारकर्मी धिरेन्द्र प्रेमर्सी, पत्रकार बद्री गुरुङ लगायतले कार्यपत्रमाथि सुझाव दिएको थियो । 

गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक पुस्करभक्त माथेमाले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी राख्दै विगतमा भाषा आन्दोलन अघि बढेकोले मातृभाषामा पत्रकारिताको अवस्था आजको दिनमा पुगेको बताए । उनले मातृभाषामा भएका पत्रकारिताले पारेका प्रभाव र यसको मुल्याङ्कनका पक्षमा पनि जोड दिनुपर्ने भनाइ राखे ।   

सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिका सदस्य अनिता गुरुङले पिएसबीमार्फत अरु थप भाषामा समाचार तथा कार्यक्रम प्रसारण गर्दै लाने विषय सकारात्मक पक्ष रहेको बताए ।  

नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले सहजीकरण गरेको कार्यक्रममा गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठका संयोजक तथा प्रतिनिधिहरु, सार्वजनिक सेवा प्रसारण नेपालका भाषाभाषी प्रतिनिधिहरु, रेडियो नेपाल र राससमा भाषा पृष्ठ र कार्यक्रम उत्पादनमा कार्यरत प्रतिनिधिहरु, फोनिजका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जातीय पत्रकार संघका पदाधिकारी तथा सदस्यहरु, आदिबासी जनजाति संघ संस्थाका प्रतिनिधिसहित एकसय बढीको  सहभागिता रहेको थियो ।